सङ्गीत सरोवरको ५४३ औं सृंखलामा वाचित समा श्रीको कविता
फूल बारुदको गन्ध सहन सक्दैन
सोचेँथे मेरो बहादुर छोरी
ट्याङ्कको मुखमा
फूलका गुच्छाहरुको बुझो हालेर
निडर उभिने छे
भित्रबाट ढोका खोल्दै निस्केर
उसको दाजु
बहिनीको साहस र बहादुरीमा
मुस्कुराउनेछ
तल ओर्लनेछ
र निधारमा म्वाईँ खानेछ
कल्पना र यथार्थ
क्षितिज र धराको मिलनझैँ
भ्रम मात्र रहेछ
ट्याङ्कका पाङ्ग्राले काटेर उछिट्टिएको
फूल समाएको बहिनीको हात हेरेर
दाजुले अट्टहास लगाएको देख्दा
म आज आफ्नै कोखलाई
बेसमारी थुक्दैछु
स्तनका मुन्टाहरुलाई
निर्घात चिमोटदैछु
अहँ
अब मलाई विश्वास छैन
कुरानमा विश्वास छैन
गीतामा विश्वास छैन
बाइबलमा विश्वास छैन
त्रिपिटकमा विश्वास छैन
कुनैमा विश्वास छैन
ईश्वर चिनाउँने यी थोत्रा पोथ्राहरु
मान्छे चिनाउन असमर्थ रहेछन्
ईश्वर जन्माउने यी झुत्राहरु
मानवता जन्माउन असफल रहेछन्
कोखमा भोटेताल्चा मार नारी हो
तिम्रा फूलहरू
फक्रन पाउँदैनन् भने
जीवन पाउँदैनन् भने
जन्माउनुको औचित्य छैन
फूल
बारुदको गन्ध सहन सक्दैन ||
- तिमीलाई कुनै पल नभेटुँ म, यो मन डराउँछ ………… प्रकृति गिरी र यस कुमार
- आँखामा साउन नझार बिपनादेखि थाकेर ………… जगदिश समाल
- तिमी झन आगो बन्नु, लक्ष नपुग्दै म ढलेछु भने ………… निर्मला घिसिङ र रमण थामी
Please Click here to listen or download Sangeet Sarowar # 543